🇳🇵 AmericaKhabar

← सबै समाचार
spirituality

एन्फा विवाद थप लम्बिदै

एन्फा विवाद थप लम्बिदै

Image: Dasarath Rangasala Stadium, tripureshor.jpg by Prabina Karki / Wikimedia Commons (CC)

📰 AmericaKhabar  •  📅 Apr 23, 2026  •  👁 0 पाठकहरू

काठमाडौँ (हाम्रो खेलकुद)- फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई एन्फासम्बन्धी आफ्नो निर्णय फिर्ता लिन  वैशाख २१ गते (मे ४) सम्मको समय सिमा दिएका छन् ।

फिफा र एएफसीले राखेपले गत वर्ष चैत ११ गते (२५ मार्च ) गरेको निर्णय एन्फाको स्वायत्ततामा हस्तक्षेप हुने भन्दै उक्त निर्णय खारेज गर्न आग्रह गरेका हुन्। तहगत निर्वाचन र‌ आफ्ना अन्य निर्देशन नमानेको भन्दै राखेपले एन्फालाई ३ महिना निलम्बन गरेको थियो। सोही निलम्बनका कारण एन्फाको चैत १३ ला लागि झापामा तय भएको निर्वाचन स्थगित गरिएको थियो।

तोकिएको मितिसम्म निर्णय फिर्ता नभए परिस्थिति थप जटिल हुन सक्ने संकेत पनि पत्रमा उल्लेख गरिएको छ।
फिफा र एएफसीले एन्फाका महासचिव किरण राईलाई पठाएको पत्रमार्फत राखेपलाई आफ्नो निर्णय पुनर्विचार गरी वैशाख २१ भित्र फिर्ता लिन आग्रह गरिएको हो। त्यसपछि सबै सरोकारवालासँग रचनात्मक संवादमार्फत साझा समाधान खोज्न आफूहरू तयार रहेको पनि पत्रमा उल्लेख गरिएको छ।

राखेपले २०८२ चैत ११ गते एन्फालाई जारी रहेको निर्वाचन प्रक्रिया रोक्न, एन्फाको विधानका केही प्रावधान संशोधन गर्न तथा जिल्ला फुटबल संघहरूलाई पनि आफ्नो विधान संशोधन गरी निर्वाचनमार्फत साधारणसभा गर्न निर्देशन दिएको प्रसंगलाई पनि पत्रमा उल्लेख गरिएको छ।

फिफा र एएफसीले भने यस्तो निर्णयले एन्फाको स्वायत्तता र गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै यसलाई तेस्रो पक्षबाट हुने अनुचित हस्तक्षेप भएको ठहर गरेका छन्।

त्यसैबीच वैशाख १ गते (अप्रिल १३ ) राखेप, एन्फा, फिफा र एएफसीबीच एन्फाको वर्तमान अवस्थाबारे अनलाइन बैठकसमेत भएको उल्लेख गर्दै बैठकमा भएको खुला र रचनात्मक छलफलको फिफा र एएफसीले प्रशंसा गरेका छन्।

उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन आयोगको पत्रका आधारमा फागुन २७ गतेका लागि तय एन्फा निर्वाचन स्थगित भएको थियो। त्यसपछि चैत १३ गते झापामा निर्वाचन गर्ने तयारी भए पनि चैत ११ गते राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेपछि निर्वाचन तेस्रो पटक स्थगित भएको थियो।

The post एन्फा विवाद थप लम्बिदै first appeared on हाम्रो खेलकुद.